0%
Still working...

हामी र हाम्रो सभ्यता

  • डिल्लीराम गौतम

हामी आर्यावर्तमा जन्मिएका ऋषि सन्तति हौँ । ऋषिहरूले ब्रह्मावर्तबाट वैदिक ज्ञान र चेतना फैलाएका हुन् । ब्रह्मावर्तको स्थापना देवताहरूले गरेका हुन् । ऋषिहरूले हिवत्खण्डमा तपसाधना गरे । सृष्टि, सृष्टितत्त्व र ती तत्त्वहरूको रहस्य पत्ता लगाए । नजिकै रहेको मध्यदेश यी सबै आर्यावर्तभित्र छन् । यहाँको सभ्यता वेदबाट विकसित भएको हो । यहाँ प्रियव्रतपुत्र नाभिले राज्य गरेका थिए । यो क्षेत्र हिमालवर्षका रूपमा रहेपनि भगवान् को नाभिबाट उत्पन्न भएकाले यसलाई अजनाभवर्ष भनेको देखिन्छ । कालान्तरमा यो हिमवर्ष अजनाभवर्ष हुँदै आज भारतवर्षका रूपमा यसको चिनारी भएको छ ।

गोत्र र प्रवर जसको छ ऊ ऋषि सन्तति हो । ऋषि ब्रह्माका मानसपुत्र हुन् । उनीहरूले जन्माएका सन्तान र उनीहरूका आश्रममा पढ्ने विद्यार्थी ऋषिकै नामले चिनिन्थे । ऋषिपछि ऋषिका पुत्र वा विद्यार्थी जो ऋषिकै समान योग्य भए; तिनीहरू प्रवरका रूपमा रहे । त्यसैले गोत्रसँगै हामीकहाँ प्रवरहरू पनि आएका छन् । वास्तवमा गोत्र भनेको वंश हो । प्रवर भनेको विशिष्ट ऋषिपछिका उक्त वंशका विशिष्ट हाम्रा पुर्खा हुन् । कालान्तरमा यिनीहरूकै वंशधार पनि तयार भयो त्यसैले उनीहरू पनि गोत्रप्रवर्तक ऋषि बनेका प्रसङ्गहरू छन् । जे होस् यी गोत्रप्रवर नै हाम्रा आदिपुरुष हुन् । हाम्रो वंशपरम्परा ब्रह्माबाट आएको छ । ब्रह्मका मानस (अयोनिज) सन्तान ऋषि, उनीहरूका वंशज हामी हौँ। उनीहरू वेदज्ञ छन् । उनीहरू नै वैदिक सभ्यताका प्रवर्तक हुन् ।

वेदबाट ज्ञान र धर्म प्रमुख दुई तत्त्व प्रकाशित भए । ज्ञान उत्पत्ति, स्थिति र प्रलयको वोध, व्यवहार र सीपको समुच्चय नाम हो । धर्म उक्त ज्ञानप्राप्तिका लागि अपनाउने आचार र व्यवहारको मूल सिद्धान्त हो । उत्पत्ति, स्थिति र प्रलयका दुई स्वरूप छन् । मन र इन्द्रिय संवेद्य र असंवेद्य यी दुई स्वरूपलाई अध्यात्म र भौतिक दुई नाम दिइयो । वोध हुन्छ र मन र इन्द्रिय संवेद्य छैन भने त्यो अध्यात्म भयो । मन र इन्द्रियसंवेद्य छ भने त्यो भौतिक भयो । इन्द्रिय संवेद्य र असंवेद्य दुवै चेतना ज्ञान हो तर भौतिक विषयको ज्ञान शिक्षाका रूपमा स्थापित भयो । इन्द्रिय असंवेद्य चेतना ज्ञानका रूपमा स्थापित भयो । यसर्थ भौतिक विषयको ज्ञान शिक्षा हो भने अध्यात्मको चेतना ज्ञान हो । ज्ञानको प्रवाह गर्ने व्यक्ति गुरु भयो भने शिक्षाको विस्तार गर्ने व्यक्ति शिक्षक भयो । यसरी हामीकहाँ ज्ञान र शिक्षा ज्ञानगङ्गाका दुई धार हुन् । यी दुवैको अन्तरपक्ष एकै छ । बाह्यपक्षमा मात्र यी शिक्षा र ज्ञान बनेर रहेका छन्।

वेदको ज्ञान प्रवाहका कारण अध्यात्म र भौतिक अभिन्न ज्ञानतह प्रवाह शुरु भयो । धर्मको अध्यात्मको मूल सिद्धान्त बन्यो । भौतिक तहमा व्यवहार र आध्यात्मिक तहमा आचार बनेर धर्मको प्रवाह भयो । सर्वप्रथम स्वयम्भुवः मनुले नीतिगत सिद्धान्तका रूपमा आचार र व्यवहारका नियम बनाएका हुन् । युगका आधारमा यो त्रेतायुग थियो । त्रेतायुगमा आइपुग्दा ब्राह्मण, क्षत्री, वैश्य र शूद्र गरी चार वर्णको सिर्जना भयो । चारैवर्णका कर्म र आचार, र व्यवहारका नियम(धर्म) निर्धारण गरियो । पूर्वजन्ममा सत्य र धर्मको संस्कार उन्नत रहेकामा ज्ञानको तह उच्च रहन्छ त्यसैले उसको जन्म ब्राह्मण कुलमा हुन्छ । ब्रह्मचिन्तन वा ज्ञानमा केही कम रहे पनि व्यवहारको ज्ञान वा शिक्षा उच्च रहेको व्यक्ति क्षत्रीकुलमा जन्मिन्छ । ब्रह्मचिन्तन वा र तदनुकुलको आचार र व्यवहारमा आधामात्रा घटेको मानिसको जन्म वैश्यकुलमा हुन्छ । यसरी नै ज्ञान र तदनुकुलको आचार व्यवहार मात्र क्षिण भएपछि शूद्र भएर जन्मिन्छ भन्ने ज्ञान, आचार र व्यवहारको शुद्धताको कसीका रूपमा चार वर्ण सामजिक व्यवस्थाका अङ्ग बनेका हुन् । यो सामाजिक स्वरूप हो । यो धर्तीमा यसरी अध्यात्म र भौतिक पक्षको आचार र व्यवहारको निष्ठाले जन्म निर्धारण भएर आउँछ भन्ने सिद्धान्त भारतवर्षभन्दा बाहिर कतै छैन । यो धार्मिक मार्गको अनुपम सार रहस्य हो । यी चार सिद्धान्तको मूल स्रोत वेद हो । वेदको नियम र व्यवहारको उल्लङ्घन हुँदा अधर्म हुन्छ । उसको उत्थान नभई पतन हुन्छ भने धर्म उत्थानको मार्ग हो । धर्म र ज्ञानको कसीमा वर्ण र आश्रमधर्म बनेको छ । यो धर्मको व्यावहारिक स्वरूप हो । यसैबाट धर्मशास्त्रले निर्धारण गरेका धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्न सकिन्छ ।

अध्यात्मको उद्देश्य धर्म र मोक्षमा प्रधान रहन्छ भने भौतिकमा अर्थ र काममा प्रधान रहन्छ । धर्म पहिलो पुरुषार्थ रहेकाले जीवनपद्धतिमा धर्मलाई प्राथमिकतामा राखिएको हो । हामीबाट हुने नित्य, नैमित्तिक र काम्यकर्महरू धर्मपूर्वक सञ्चालन हुनुपर्छ । वैदिक धर्ममा सत्वगुणको अधिकता रहन्छ र मोक्षप्रधान रहन्छ । यो ज्ञानमय र शान्तमय छ । रजोगुणमा ज्ञान त रहन्छ तर त्यसमा साजसज्जा बढी हुन्छ । आचार व्यवहारमा बढी तडकभडक रहन्छ । धर्म र अर्थ दुवैको बाहुल्य रहन्छ । यसले मोक्षतिर लाँदैन । यसको पहुँच स्वर्गसम्म रहन्छ । तमोगुणमा गइसकेपछि धर्म न्युन र अर्थ र काममात्र प्रमुख हुन्छन् । साजसज्जा र देखावटीपन अधिक रहन्छ । ज्ञान र धर्मको होइन समाजको मात्र चित्रण गरिन्छ । यसको पहुँच स्वर्गसम्म रहँदैन । केही समयको सांसारिक सुखमात्र प्राप्ति हुन्छ । अधर्म बढी छ भने नरक र धर्म अधिक छ भने केही समयका लागि स्वर्ग पनि प्राप्त हुन्छ ।

धर्म, वर्ण, वर्णधर्म, आश्रम र आश्रमधर्म अध्यात्मका सिद्धान्तबाट स्थापित भएका हुन् । धर्म मोक्षका लागि र अर्थ कामका लागि भएकाले मनुष्यले अध्यात्मको मार्गबाट हिँड्दा यी चारै कुरा प्राप्त गर्दछ भन्ने शास्त्रहरूको निर्णय छ । त्यसैले नित्य, नैमित्तिक र काम्य सबै हामीले गर्ने कर्महरूमा धर्म र अध्यात्मको प्रभाव छ । यही ऋषि सभ्यता हो । भारतवर्ष यो हिमवत्खण्डका हरेक मानवले अपनाएका मानवसभ्यतामा ऋषि, देवता र ईश्वर जोडिन्छन् । यदि यी तत्त्व जोडिँदैनन् भने यस भूगोलमा जन्मनेले आफ्नो सभ्यता भुल्यो । यहाँका सजीवनिर्जीव सबै कुरामा वर्ण र देवता जोडिएकै छन् ।

हाम्रो सभ्यताको बीज धर्म हो भने यसको प्राण ज्ञान हो । अध्यात्म यसको जीवन हो भने संस्कार जीवनपद्धति हो । जीवनपद्धतिमा आउने चाडपर्व, व्रत, उत्सव हाम्रा संस्कृति हुन् । यसर्थ वेदलाई छोडेर धर्म हुँदैन र धर्मलाई छोडेर संस्कार हुँदैन अनि संस्कारलाई छोडेर अध्यात्म रहँदैन । अध्यात्म रहेन भने हाम्रो मौलिक सभ्यता सकिन्छ । सभ्यता नै सकिएपछि स्वरूपले मानव हुन्छौँ व्यवहारले असभ्य बन्छौँ । त्यसैले हाम्रो मूल र मौलिक प्रवाह हामीले हाम्रै धर्मशास्त्रबाट लिनुपर्छ । ब्रह्मावर्तबाट फैलिएको विशाल ज्ञानराशी नै संसारको पहिलो ज्ञानप्रकाश हो भन्ने बुझ्नुनुपर्छ ।

वेद, स्मृति र पुराणहरूको अन्वेषण गरेर हेर्दा संसारमा ज्ञानसभ्यताको किरण यही आर्यावर्तबाट छरिएको देखिन्छ । जहाँ नाभिले राज्य गरे त्यो हिमवर्ष ज्ञानसाधनाको भूमि हो । नाभिपुत्र हृशभदेवले तपसाधनाले प्राप्त गरेका ज्ञान र देवशत्तिफ्को प्रकाश आजसम्म उत्तिकै देदिप्य छ । हृशभदेवका जेठा छोरा भरतका कारण आज हामी रहेको भूमि भारतवर्ष हुन पुग्यो । यो भूमि अध्यात्मभूमि हो । देवताले स्थापना गरेको ब्रह्मावर्तबाट विकसित हुँदै गएकाले यो देवभूमि हो । जहाँ देवताहरू आज पनि विचरण गरिरहन्छन् र अष्टचिरञ्जीवीहरूले अहिले पनि तपमय जीवन व्यतीत गरिरहेका छन् । उनीहरूको शरीर प्रकाशमय भएकाले जो कोहीले चिह्न सक्तैन। जहाँ स्वर्गबाट झरेका नदीहरू छन् । नदीहरूको नाम देवीमय छ । पहाड र पर्वतहरू ऋषि र देवताका नामले प्रसिद्ध छ । देवताहरूले कुनै कारणबाट श्राप पाएका छन् भने यहीँ आएर भोग्नुपर्छ । श्रापमुक्त हुनका लागि देवताहरूले तपस्या गरेका अनगन्ति क्षेत्रहरू भारतवर्षमै छन् ।

देवासुर सङ्ग्राम, समुद्रमन्थनजस्ता कार्यहरू यही क्षेत्रमा भएका छन् । स्वर्ग र नरकयात्रा यहीँबाट हुन्छ र स्वर्ग वा नरकबाट भोग सकिएपछि आउने क्षेत्र यही हो । देवदेवीको संरक्षकत्त्वले कुल रक्षित छ । परम्परा देवता र ऋषिबाट आएको छ । ऋषिको जन्मको उत्सव, भगवान्को अवतारतिथिको उत्सव, आसुरी शक्तिमाथि देवशक्तिको विजयउत्सव यहीँ मनाइन्छ । चाड, पर्व र उत्सव सबै देवमय छन् । यसर्थ देवतासँगको अविच्छिन्न सम्बन्ध छ । उत्पत्ति, स्थिसत र प्रलयका देवदेवी छन् । ती सबैको यस क्षेत्रमा निवास छ । यही कारणले यहाँका नदी पानीमात्र होइन पवित्रता र देवउर्जा लिएर बग्छन् । यहाँका मन्दिरमा मूर्तिमात्र होइन देवप्रतिष्ठित छन् । ऋषिमुनिले रचना गरेका पुस्तकका अक्षरहरू देवमय छन् । पुस्तक आफैँ  देवविग्रह हुन् । हाम्रो शरीरका हरेक अङ्गमा देवप्रतिष्ठित छन् । यही यहाँको विशेषता हो ।

हरेक तत्त्वलाई अध्यात्म र भौतिक दुई दृष्टिले हेर्ने हाम्रो पद्धति छ । अध्यात्म भित्रीपक्ष हो भने भौतिक बाह्यपक्ष हो । यसमा हामीले अध्यात्मलाई प्रधान मानेका छौँ । यसर्थ हाम्रा हरेक नित्य, नैमित्तिक र काम्यकर्म अध्यात्ममय छन् । अध्यात्मभित्र सत्व, रज र तमोगुण र गुणका प्रभावहरूलाई विशेष ध्यान दिइन्छ । आहार, विहारलाई तमोगुणभन्दा रजोगुणतिर र रजोगुणभन्दा सत्वगुणतिर जानका लागि स.सकारविधिहरू अपनाएका छौँ । दोष हटाएर गुण स्थापित गर्न र रहेको गुणमा परिष्कार ल्याउन विधि र पद्धतिहरू निर्माण भए । मूलतत्त्वमा दोष नआओस् भनेर संस्कारको आवरणले सुरक्षित राख्ने विधि नै संस्कारकर्म हो ।

आत्मा नभएको कुनै तत्त्व छैन तर चेतना र विवेक सजीवमा हुन्छ । स्थावर र जङ्गमप्राणी दुवैमा जीवन छ । यसमा जङ्गमप्राणीमा चेतना र विवेक रहन्छ । उद्वीज (जमिनबाट उम्रने), स्वेदज (पसिनाबाट जन्मने), जरायुज(गर्भबाट जन्मने), अण्डज(अण्डाबाट निस्कने) गरी चार प्रकारका प्राणी छन् । यिनीहरूको मौलिक स्वरूपको रक्षा गर्न गरिने कर्म संस्कारकर्म हुन् । यी सबैमा सत्व, रज र तमोगुण छन् । यी सबैमा रहने आत्माका भिन्न स्वरूप छन् । आत्मा त एकै हो तर भौतिक उपस्थितिका कारण भिन्नभिन्न रूपले रहन्छ । चैतन्यको मात्रा अधिक रहनेलाई प्राज्ञआत्मा भनिएको छ । आत्माका चारपाद छन् ।

हाम्रो सभ्यताको केन्द्रमा आत्मा छ । आत्मा ब्रह्मकै अंश हो । यसको अभिव्यत्तिफ् ॐ हो । यसैलाई अक्ष्रर ब्रह्म भनिन्छ । यो आत्मा नै ब्रह्म हो । यो आत्मा चारपादयुक्त छ । यसमा पहिलो पाद वैश्वानर (विश्व) हो । अनि दोस्रोपाद तैजस, तेस्रोपाद प्राज्ञ र चौथो तुरीय आत्मा^1 हो । जागृतस्थान वैश्वानर आत्मा^2 को हो । स्वप्नस्थान तैजस आत्माको हो । सुषुप्तस्थान प्राज्ञको हो भने चतुर्थ मात्रा रहित अवस्था आत्मा हो । जागेका अवस्थामा रहने आत्माको पहिलो पाउ विश्व वा वैश्वानरआत्मा हो । हामी सुतेको अवस्थामा स्वप्न देख्छौँ । त्यो अवस्थामा आत्माको दोस्रो पाउ तैजसआत्मा रहन्छ । सपना नदेखि सुतेर निदाएको अवस्थामा रहेको आत्मा तेस्रापाद ‘प्राज्ञ’ हो । यी तीन अवस्थाभन्दा अलग रहेको आत्मा तुरीयआत्मा हो । आत्माका यी चारपाउलाई शुद्धीकरण गरिरहने कर्मलाई संस्कारकर्म भनिएको छ । शरीरसँग विषय, मन र इन्द्रियको संलग्नता रहेको जागरित अवस्थामा आत्माको पहिलो पाउ वैश्वानरआत्मा रहन्छ । शरीरबाहेक विषयसँग मन र इन्द्रियरहेको अवस्थामा दोस्रो पाउ तैजसआत्मा रहन्छ । मन र इन्द्रिय निस्क्रिय भई सुषुप्त अवस्थामा तेस्रोपाउ प्राज्ञआत्मा रहन्छ । मात्रा र तीन अवस्थाभन्दा अलग रहेको अवस्थामा चौथोपाउ तुरीयआत्मा रहन्छ ।

आत्माको अस्तित्त्व शरीरले पुष्टि गर्छ । आत्मा निस्कने वित्तिकै शरीर जड बन्छ र सड्न थालिहाल्छ । यो शरीर भौतिक तत्त्व हो । पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच भौतिक तत्त्वको समन्वयले शरीरको निर्माण भएको छ । सत्व, रज र तमगुणमय प्रकृतिलाई महत्तत्त्व(बुद्धि वा पुरुष)ले स्पर्श गरेपछि (त्रिविध अहङ्कार) चेतन उत्पन्न भएको छ । पुरुष नै यो शरीरको सञ्चालक तत्त्व हो । सात्विक अहङ्कारबाट इन्द्रियशक्तिका रूपमा देवता उत्पन्न भए । रजो अहङ्कारबाट विषय ग्रहण गर्ने इन्द्रिय जन्मिए । तम अहङ्कारबाट शरीर बन्ने पाँचतत्त्व र पाँचतत्त्वका आफ्ना गुण तन्मात्रा उत्पत्ति भए ।

यस्तो आत्मामा कुनै दोषले नछोओस् भनेर गर्भदेखि नै प्रशोधन गर्ने सोह्रसंस्कारका विधिहरू स्थापित भए । वैदिक विधि र स्मृति विधान नभएका स्थानहरूमा यी विधिहरू छैनन् । यसरी हामीकहाँ आध्यात्मिक र भौतिक संस्कार र संस्कृतिहरू आएका छन् । हामीले अध्यात्मसँग जोडिएका धार्मिक कृत्यहरूलाई जीवनपद्धतिमा उतारेका छौँ । धर्मले शरीर र अन्तःकरणलाई शुद्ध र पवित्र बनाउँछ । यसका लागि चाड, पर्व, व्रत, उत्सव, पूजा, यज्ञ, उपासना र तपको पद्धतिको निर्माण भयो । यसमा वर्ण, आश्रम र वर्णाश्रम विशिष्टिकृतधर्म छन् ।

जन्मदेखि मृत्युपर्यन्तका संस्कारकर्म, प्रायश्चित कर्म, नित्यकर्म, नैमित्तिककर्म र काम्यकर्मका विशिष्ठ कर्मपद्धतिको सभ्यतालाई व्यवस्थापन गरेर विधिसम्मत हिँड्नका लागि शास्त्रनिर्माण गरेका छौँ । यसमा हाम्रा बार, महिना, तिथि, नक्षत्र कर्मका लागि तय भएका छन् । बार, बेला र मुहूर्त जुराएर कर्म गर्ने परिपाटी हामीकहाँ मात्र छ । यस्तो कर्मविधिपद्धति अन्यत्र पाइँदैन । सङ्क्र्रान्ति, औँसी, पूणिमा, युगादि तिथि, अवतारतिथि, अक्षय तृतिया, ऋषिपञ्चमी, ऋषितर्पणी, श्रावणीस्नानजस्ता विशेष तिथि जन्मतिथि, गङ्गादशहरा, सोह्रश्राद्ध, नवरथा, विजयादशमी, यमपञ्चक जस्ता पर्वतिथिहरू, नक्षत्रविशेष कर्म, बारविशेष व्रतपूजाको कर्मपद्धति लिएर आएका छौँ।

हाम्रा कर्मका आधारहरू

हामीले हाम्रो व्यवहार धर्म, ज्ञान र अध्यात्मलाई आधार मानेर चलाउँदै आएका छौँ । हामीले अपनाएका नित्य, नैमित्तिक र काम्यकर्महरू यिनै तीन नीति अनुरूप चलेका छन् । यो सृष्टिको मूल स्रोतसँग सम्बन्धित छ । सृष्टिसञ्चाक शक्ति सूर्य र चन्द्रका आधारमा हाम्रा हरेक कृत्यकर्महरू हुन्छन् । नियमित कर्मदेखि काम्यकर्मसम्मका यज्ञयागादिका अनुष्ठानहरू सूर्य र चन्द्रमाका आधारमा हुन्छन् । अधिकतर कर्महरू तिथिपरक छन् । तिथि चन्द्रसँग सम्बन्धित छ । हाम्रो पात्रो बार, तिथि, नक्षत्र, योग र करण यी पाँच अवयवमा आधारित छ त्यसैले यसलाई पञ्चाङ्ग भनिन्छ । तिथि, बार, नक्षत्र, योग र करण यी पाँचको योग पञ्चाङ्ग हो ।

सूर्यका ३० अंश छन् । यी ३० अंशको पूर्ण चक्र महिना हो । ३० अंश पूरा भएपछि एक राशीबाट अर्को राशीमा सूर्यको प्रवेश हुन्छ । यसबाट महिना परिवर्तन हुन्छ । तिथिका कारणबाट पक्ष परिवर्तन हुन्छ । औँसीका दिन सूर्य र चन्द्रमा एकत्रित हुन्छन् । यसपछि चन्द्रमा सूर्यका अगाडि लाग्छ । यसरी चन्द्रमाले गति लिँदा सूर्य र चन्द्रमाको १२ अंशको अन्तर हुँदा १ तिथि पूर्ण हुन्छ । यसरी अर्को अमावस्यासम्ममा ३० तिथि हुन्छन् । चन्द्रमाको १ कला भनेको १ तिथि हो । हामीकहाँ हरेक प्रकरण तिथि र नक्षत्रले निर्धारण गर्छन् । जुनदिन जुन राशीमा सूर्यको प्रवेश हुन्छ त्यो सङ्क्रान्ति हुन्छ । पूर्णिमाको दिन चन्द्रमा जुन नक्षत्रमा प्रवेश गर्छ त्यसै आधारमा महिनाको नामकरण हुन्छ ।

चान्द्रमासअनुसार एक तिथि भनेको एकदिन हो । चान्द्रमास अनुसार ३० तिथि छन् । यी ३० तिथिहरू पक्षका रूपमा विभक्त छन् । १५ तिथिको एक पक्ष हुन्छ । शुक्लपक्षको अन्त्यमा पूर्णिमा आउँछ भने कृष्णपक्षको अन्त्यमा औँसी आउँछ । शुक्ल र कृष्ण दुईपक्ष छन् । तिथिहरू पूर्णिमा प्रतिपदा (परेवा), द्वितीया, तृतीया (तीज), चतुर्थी (चौथी), पञ्चमी (पञ्चमी), षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी , द्वादशी, त्रयोदशी, चतुर्दशी र अमावस्या (औंसी) हुन् ।

बाह्र राशीहरू महिनाका रूपमा र सातग्रह बारका रूपमा रहेका छन् । नक्षत्र भनेको ताराहरूको समूह हो । आकाशलाई २७ भागमा विभक्त गरेको छ त्यसैले नक्षत्र २७ छन् । यी अश्विनी, भरणी, कृतिका, रोहिणी, मृगशिरा, आर्द्रा, पुनर्वसु, पुष्य, आश्लेषा, मघा, पूर्वा फाल्गुनी, उत्तरा फाल्गुनी, हस्त, चित्रा, स्वाति, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वा भाद्रपद, उत्तरा भाद्रपद, र रेवती हुन् । यस अतिरिक्त एक अभिजित नामको नक्षत्र पनि छ त्योसहित नक्षत्र २८ छन् । नक्षत्रहरू चन्द्रमाका मार्गमा रहेका छन्। यसमा अभिजित क्रान्तिमार्गभन्दा बाहिर रहेकाले यसको गणना गरिँदैन ।

यसर्थ बार र तिथिजस्तै नक्षत्र पञ्चाङ्गको अर्को एक अङ्ग हो । नक्षत्रका पिता दक्षप्रजापति हुन् । नक्षत्र सत्ताइस छन्। यी नक्षत्रका आधारमा आकाशलाई २७ भागमा बाँडिएको छ । नक्षत्रलाई नौ ग्रहका आधारमा नौ भागमा बाँडिएको छ । एक ग्रहले तीन नक्षत्र भोग्छन् । तीन नक्षत्रका स्वामी एक ग्रह छन् । कृतिका, उत्तरा फाल्गुनी, उत्तराषाढाका स्वामी सूर्य, रोहिणी, हस्तका, श्रवणका स्वामी चन्द्रमा हुन् । मृगशिरा, चित्रा, धनिष्ठाका स्वामी मंगल हुन् । अश्लेषा, ज्येष्ठा, रेवतीका स्वामी बुध हुन्। आर्द्रा, स्वाति, शतभिषाका स्वामी राहु हुन् । पुनर्वसु, विशाखा, पूर्वा भाद्रपदका स्वामी बृहस्पति हुन् । भरणी, पूर्वा पफल्गुनी, पूर्वाषाढाका स्वामी शुक्र हुन् । पुष्य, अनुराधा, उत्तरा भाद्रपदका स्वामी शनी हुन् । आर्द्रा, स्वाति, शतभिषाका स्वामी राहु हुन् । अश्विनी, मघा, मूलका स्वामी केतु हुन् ।

यसै गरी हरेक नक्षत्रका एकएक देवता पनि छन् । यसरी हेर्दा अश्विनी नक्षत्रका देवता अश्विनीकुमार हुने स्वामी केतु हुन् । भरणी नक्षत्रका देवता यमराज हुन् भने स्वामी शुत्रफ् हुन् । कृत्तिका नक्षत्रका देवता अग्नि देव हुन् भने स्वामी सूर्य हुन् । रोहिणी नक्षत्रका देवता ब्रह्मा हुन् भने स्वामी चन्द्रमा हुन् । मृगशिरा नक्षत्रका देवता चन्द्रमा हुन् भने स्वामी मंगल हुन् । आर्द्रा नक्षत्रका देवता शिव हुन् भने स्वामी राहु हुन् । पुनर्वसु नक्षत्रका देवता अदिति हुने भने स्वामी गुरु हुन् । पुष्य नक्षत्रका देवता बृहस्पति हुन् भने स्वामी शनि हुन् । आश्लेषा नक्षत्रका देवता नागदेव हुन् भने स्वामी बुध हुन् । मघा नक्षत्रका देवता पितृदेव हुन् भने स्वामी केतु हुन् । पूर्वापफल्गुनी नक्षत्रका देवता भग हुन् भने स्वामी शुक्र हुन् । उत्तरा फाल्गुनी नक्षत्रका देवता अर्यमा हुन् भने स्वामी सूर्य हुन् । हस्त नक्षत्रका देवता सूर्य हुन् भने स्वामी चन्द्रमा हुन् । चित्रा नक्षत्रका देवता विश्वकर्मा हुन् भने स्वामी मंगल हुन् । स्वाति नक्षत्रका देवता पवन हुन् भने स्वामी राहु हुन् । विशाखा नक्षत्रका देवता इन्द्र र अग्नि हुन् भने स्वामी गुरु हुन् । अनुराधा नक्षत्रका देवता मित्र हुन् भने स्वामी शनि हुन् । ज्येष्ठा नक्षत्रका देवता इन्द्र हुन् भने स्वामी बुध हुन् । मूल नक्षत्रका देवता निरिती हुन् भने स्वामी केतु हुन् । पूर्वाषाढा नक्षत्रका देवता जलदेव हुन् भने स्वामी शुक्र हुन् । उत्तराषाढा नक्षत्रका देवता विश्वेदेव हुन् भने स्वामी सूर्य हुन् । श्रवण नक्षत्रका देवता विष्णु हुन् भने स्वामी चन्द्रमा हुन् । धनिष्ठा नक्षत्रका देवता अष्टवसु हुन् भने स्वामी मंगल हुन् । शतभिषा नक्षत्रका देवता वरुण हुन् भने स्वामी राहु हुन् । पूर्वाभाद्रपद नक्षत्रका देवता अजैकपाद हुन् भने स्वामी गुरु हुन् । उत्तराभाद्रपद नक्षत्रका देवता अहिर्बुध्न्य हुन् भने स्वामी शनि हुन् । रेवती नक्षत्रका देवता पूषा र सूर्य हुन् भने स्वामी बुध हुन् ।

यसै गरी पञ्चाङ्गको एक अङ्ग भनेको योग हो । योग २७ प्रकारका हुन्छन् । सूर्य–चन्द्रको विशेष दूरिहरूको स्थितिलाई योग भनिन्छन् । यिनीहरूको नाम विष्कुम्भ, प्रीति, आयुष्मान, सौभाग्य, शोभन, अतिगण्ड, सुकर्मा, धृति, शूल, गण्ड, वृद्धि, ध्रुव, व्याघात, हर्षण, वज्र, सिद्धि, व्यातीपात, वरीयान, परिघ, शिव, सिद्ध, साध्य, शुभ, शुक्ल, ब्रह्म, इन्द्र र वैधृति हो । विष्कुम्भ, अतिगण्ड, शूल, गण्ड, व्याघात, वज्र, व्यतीपात, परिघ र वैधृतिलाई अलि अशुभ मानिन्छ । यसबाट जोगिने उपायहरू ज्योतिषशास्त्रमा छ ।

पञ्चाङ्गको अर्को एक अङ्ग करण हो । तिथिको आधा भाग चन्द्रमाको १२ अंशलाई करण भनिन्छ । एक तिथिमा दुई करण हुन्छन् । एक पूर्वार्धमा तथा एक उत्तरार्ध मा हुन्छ । करण ११ छन् । तिनीहरूको नाम बव, बालव, कौलव, तैतिल, गर, वणिज, विष्टि, शकुनि, चतुष्पाद, नाग र कितुघ्न । कृष्णपक्षको चतुर्दशीको उत्तरार्धमा शकुनि, अमावस्याका पूर्वार्धमा चतुष्पाद, अमावस्याका उत्तरार्धमा नाग र शुक्ल पक्षको प्रतिपदाका पूर्वार्धमा कितुघ्न करण हुन्छ । विष्टि करणलाई भद्रा भन्दछन् । भद्रामा शुभ कार्य वर्जित छ । यी करणका आआफ्नै देवता छन् । क्रमशः इंद्र, कमलज, मित्र, अर्यमा, भू, श्री, यम, कलि, वृष, फणी, मारुत करणका देवता हुन् ।

संवत् र संवत्सर

बर, महिना हुँदै वर्ष वित्छ । वर्षलाई सवत्सर र संवत् ले चिनिन्छ । यी संवत् र संवत्सर चन्द्र र सूर्यका आधारमा आएका छन् । संवत् सूर्यका आधारमा छ भने संवत्सर चन्द्रका आधारमा छ । हामीकहाँ धेरै प्रकारका संवत् हरू चलेका छन् । यही कलियुगमा युधिष्ठिर, विक्रम, शालिवाहन, नागार्जुन, विजयाभिनन्दन र कल्की (यसको यकिन छैन) गरी छ संवत्सर चलेको देखिन्छ । कलिसंवत् को प्रारम्भ कृष्णको स्वधाम गमनबाट शुरु भएको मानिन्छ । यो विष्णुपुराणमा आएको कथन हो । वसुदेवका कुलमा उत्पन्न विष्णुअंश श्रीकृष्णको स्वधामगमन भएको दिनबाट कलि आएको हो ।^3  ३१९७ शकपूर्व महाभारत युद्ध भएको हो भन्ने कुरा छ ।

यसपछि महाभारत युद्ध सकिएर युधिष्ठिरले राज्य चलाउन शुरु गरेपछि युधिष्ठिर संवत् शुरु भएको हो । रत्नदीप पुस्तकको टिकामा कुरु वंशमा उत्पन्न भएका कुन्तिपुत्र युधिष्ठिर संवत् चल्नेछ । यसपछि विक्रम संवत् शुरु हुनेछ । यो संवत् १३५ वर्ष चल्नेछ । यसपछि महादेव भक्त शालिवाह राजा हुनेछन् । ^4 अन्य संवत् हरू धर्मपूर्वक सामाजिक अभ्युदयमा गरेका योगदानका आधारमा शुरु भएका हुन् । यिनीहरूमा विक्रमसंवत् पञ्चाङ्गको मूल स्वरूप बोकेर आएको छ । यो वैशाख १ गतेबाट आरम्भ हुन्छ । १ गते भनेको सूर्यको प्रथम अंश हो । यो अंशमा घटबढ हुँदा २९ र ३२ को महिना हुने हो । महिनाहरू सूर्यका आधारमा छन् । महिनाभित्र तिथिहरू घुम्दछन् । तिथिहरू चन्द्रमामा आधारित छन् । यी दुवैसँग नक्षत्रहरू चल्दछन् । यिनीहरूले राशी निर्धारण गर्दछन् । एक राशीमा तीन नक्षत्र रहन्छन् । २७ नक्षत्रलाई बाह्र भाग लगाउँदा बाह्र राशी हुन्छन् । महिनाहरू यसैका प्रतिनिधि हुन् । पक्ष तिथिका आधारमा तय भएका छन् । चन्द्रमाको अंश नै तिथि हो । चन्द्रमाको अंशमा अमृतको रस घट्तै जाँदा कृष्णपक्ष हुन्छ र भरिँदै जाँदा शुक्लपक्ष हुन्छ । शुक्लपक्ष अन्तिम तिथि पूर्णिमा हो र कृष्णको अन्तिम तिथि औँसी हो । अयन (उत्तरायण, दक्षिणायन) सूर्यका गति हुन् । उत्तरायणमा दिन लामा हुन्छन् भने दक्षिणायनमा छोटा हुन्छन् । दिन लामा हुँदा रात छोटा हुन्छन् रात लामा हुँदा दिन छोटा हुन्छन् । सरदर अहोरात्रको समय एकै हुन्छ ।

यसैगरी चैत्रशुक्ल प्रतिपदाबाट संवत्सरको आरम्भ हुन्छ । संवत्सर तिथिबाट शुरु भएको छ । शकसंवत् चैत्रशुक्लप्रतिपदा बाट शुरु हुन्छ । संवत् र संवत्सर वर्षका द्योतक हुन् । हामीले प्रयोग गर्दै आएको पञ्चाङ्गमा वर्षकै रूपमा संवत्सर चलिरहन्छ । संवत्सर हरेक वर्षमा निरन्तर संवत्सर चलिरहन्छन् । नित्य घुम्ने संवत्सर साठी छन् । प्रभव, विभव, शुक्ल, प्रमोद, प्रजापति, अंगिरा, श्रीमुख, भाव, युवा, धाता, ईश्वर, बहुधान्य, प्रमाथी, विक्रम, विषु, चित्रभानु, स्वभानु, तारण, पार्थिव, व्यय, सर्वजित्, सर्वधारी, विरोधी, विकृति, खर, नन्दन, विजय, जय, मन्मथ, दुर्मुख, हेमलम्ब, विलम्ब, विकारी, शर्वरी, प्लव, शुभकृत्, शोभन, त्रफेधी, विश्वावसु, पराभव, प्लवंग, कीलक, सौम्य, साधारण, विरोधकृत्, परिधावी, प्रमादी, आनन्द, राक्षस, नल, पिंगल, काल, सिद्धार्थ, रौद्रि, दुर्मति, दुन्दुभि, रुधिरोद् गारी, रक्ताक्ष, क्रोधन तथा अक्षय ^5 हुन् । संवत्सर, वत्सर, अब्द, हायन, शरत् , समा यी ६ नाम सवत्सर हुन् ।^6

महिना यिनको नामकरण

मास वा महिना भनेको एक वर्षका बाह्र भागमध्ये एक भाग हो । एकवर्षमा बाह्र राशी घुम्दछन् । ती राशीको चक्र नै महिना हो । महिना हामीकहाँ चार प्रकारका छन्:  सौरमास, चांद्रमास, नाक्षत्र या बार्हस्पत्यमास र सावनमास यी मास भेद हुन् । सौर मासअनुसार चैत्र, वैशाख, जेठ, असार, श्रावण, भाद्र, आश्विन, कार्तिक, मङ्गसिर, पौष, माघ, फागुन महिनाका नाम छन् । सौरमासका नामहरू नक्षत्रबाट आएका हुन् । जुन नक्षत्रमा पूर्णिमा तिथिको प्रवेश हुन्छ त्यही नक्षत्रबाट महिनाको नाम राखिन्छ । यसरी चित्रा नक्षत्रमा पूर्णिमा भएकाले चैत्रमास भएको हो । विशाखा नक्षत्रमा पूर्णिमा परेकाले वैशाख नाम भएको हो । ज्येष्ठा नक्षत्रमा पूणिमा तिथि परेकाले ज्येष्ठ नाम रहेको हो । पूर्वाषाढा नक्षत्रका दिन पूर्णिमा तिथि परेकाले आषाढ नाम रहेको हो । श्रवण नक्षत्रका पूर्णिमाको प्रवेश भएकाले श्रावण नाम रहेको हो । पूर्वभाद्रपद नक्षत्रमा पूणिमा परेकाले भाद्र नाम रहेको हो । अश्विनी नक्षत्रमा पूर्णिमा भएकाले आश्विन नाम रहेको हो । कृतिका नक्षत्रमा पुणिमा तिथिको प्रवेश भएकाले कार्तिक नाम रहेको हो । मृगशिरा नक्षत्रमा पूर्णिमाको प्रवेश भएकाले मार्गशीर्ष नाम रहेको हो । पुष्य नक्षत्रमा पूर्णिमा तिथि पर्न गएकाले पौष नाम रहेको हो । मघा नक्षत्रका दिन पूर्णिमा परेकाले माघ नाम भएको हो । उत्तरापफल्गुनी नक्षत्रका दिन पूर्णिमा तिथिको प्रवेश भएकाले पफल्गुन नाम रहेको हो । हरेक महिनाका देवता छन् ।

सूर्यका राशी भएकाले चैत्र महिना मीन हो । वैशाख मेषराशी हो । जेठ वृष राशी हो । असार मिथुन राशी हो । श्रावण कर्कट राशी हो । भदौ सिंह राशी हो । असोज कन्या राशी हो । कार्तिक तुला राशी हो । मङ्सिर वृश्चिक राशी हो । पुस धन राशी हो । माघ मकर राशी हो । फागुन कुम्भ राशी हो । चैत्र मीन राशी हो । यी बाह्र महिनाको एक वर्ष हुन्छ । यी राशीसँग पञ्चतत्त्व, मन, बुद्धि, चित्त, शरीर र आत्मा, चन्द्रमा, सूर्य सबैसँग एकआपसमा सम्बन्ध छ । पृथ्वीतत्त्वसँग वृष, कन्या र मकर राशी सम्बन्धित छन् भने जलतत्त्वसँग कर्कट, वृश्चिक, र मीन राशी सम्बन्धित छन् । यसै गरी तेज वा अग्नितत्त्वसँग सम्बन्धित मेष, सिंह र धनु राशी सम्बन्धित छन् । वायुतत्त्वसँग मिथुन, तुला र कुम्भ राशी सम्बन्धित छन् । शुक्लपक्षको प्रतिपदाबाट अमावास्यासम्म चान्द्रमास हुन्छ । सूर्यले एक राशि भोगेर वा एक सङ्क्रान्तिबाट दोस्रो संत्रफतिसम्म सौरमास हुन्छ । ३० दिनको अवधि सावनमास हो । ^7

यी महिनाका क्रममा मलमासक्ष्यमास पनि आउँछन् । मलमास क्षयमासका सन्दर्भमा यदि दुई अमावास्याका बीचमा सूर्यसङ्क्रान्ति हुँदैन भने त्यो महिना मलमास हो । दुई अमावास्याका बीचमा सूसूर्यसङ्क्रान्ति छ भने त्यो क्षयमास हुन्छ । यह कार्तिकादि तीन महिनामा पर्दछ । जुन वर्षमा क्षयमास पर्छ त्यस वर्षमा दुई मलमास हुन्छन् । ^8 पहिलो मलमासबाट दोस्रो मलमास ३२ महिना १६ दिन ४ घड़ीमा पर्दछ ।^9 मलमासमा कार्याकार्यका सन्दर्भमा शास्त्रले भनेका छन् नित्य नैमित्तिक कर्म, श्राद्ध, तिथि नक्षत्र बारमा बारका लागि भनिएका कुरा मलमासमा पनि गर्दा दोष हुँदैन । कामनायुक्त कर्म(काम्यकर्म) भने गर्नुहुँदैन ।^10

राशीसँग, तिथि, नक्षत्र, ग्रह र पञ्चतत्त्वको एकआपसमा समन्वय भएको हुन्छ । तिथि चन्द्रमासँग सम्बन्धित छ भने सूर्य गतेसँग सम्बन्धित छ । यसमा आउने नक्षत्र आकाश मण्डलको विभागसँग सम्बन्धित छ । सूर्य र चन्द्रमा बीचमा रहेको दुरीको परस्पर सम्बन्ध योग हो । तिथिको आधा भागलाई करण भनिएको छ ।

बार होरासँग सम्बन्धित छ । प्रथम होरा सूर्य हुन्छ भने द्वितीय होरा चन्द्रमा हुन्छ । एक दिनमा चौबीस होरा हुन्छन्। एक घण्टाको एक होरा हुन्छ । २४ होरा प्ररा भएर २५ औँ मा जुन होरा आउँछ त्यो त्यस दिनको बार हुन्छ । चन्द्रमाका सोह्रकला भनेकै तिथि हुन् । हरेक कला एक तिथि हुन्छ । तिथिलाई नन्दा, भद्रा, जया, रित्तफ र पूर्णा गरी पाँच भागमा विभक्त गरिएको छ ।

हाम्रो कालमापनपद्धति

यी बार, तिथि, नक्षत्र, योग र करण यी सबै काल गणनाका हिस्सा हुन् । यसरी नै पक्ष, महिना, ऋतु, अयन, वर्ष र संवत्सर कालगणना भित्रका हिस्सा हुन् तर हाम्रा ऋषिमुनिहरू आध्यात्मिक धारबाट यी सबै कुराको अनुशीलन गरे । समयलाई सृष्टिचक्रको जीवन्त शक्तिका रूपमा प्राप्त गरे । यी कालक्रमका सबै हिस्सामा देवता छन् । यी परमाणेदेखि कल्पसम्मको काल गणना आत्माकै गतिका रूपमा अर्थ्याएका छन् । पन्ध्र निमेषको एक काष्ठा हुन्छ । तीस काष्ठा बराबर एक कला हुन्छ । तीस कलाको एक मुहूर्त हुन्छ । यस तीस कला पनि थप हुन्छ । यसरी हेर्दा तीस कला र तीन काष्ठा मिलेपछि एक मुहूर्त हुन्छ । तीस मुहूर्तको अहोरात्र(दिन र रात) हुन्छ ।^11 यो हामीहरूको एक दिन हो ।

हामीकहाँ काल गणनाको आरम्भ परमाणुबाट भएको छ । परमाणु सबैभन्दा सूक्ष्म अवस्था, २ परमाणु बराबर एक अणु, ३ अणु बराबर त्रसरेणु ३ त्रसरेणु बराबर १ त्रुटि, १० त्रुटि बराबर १ प्राण, १० प्राण बराबर १ वेध, ३ वेध बराबर १ लव, ३ लव बराबर १ निमेष, २ निमेषको १ पल, ३ निमेषको १ क्षण, २० निमेषको १०, विपल एकप्रण, ५ क्षणको १ काष्ठा, १५ काष्ठाको १ दण्ड या १ नाडी, २ दण्डको १ मुहूर्त, ३ मुहूर्तको १ प्रहर, १ प्रहर भनेको १ याम, १५ लघुको १ घडी, ६० घडी बराबरको एक अहोरात्र, १५ दिनको १ पक्ष, २ पक्षको १ महिना हुन्छ । २ महिनाको १ ऋतु हुन्छ । ६ ऋतुको १ वर्ष हो । यसलाई मनुष्यवर्ष भनिन्छ । मनुष्यको १ वर्ष देवताको वा स्वर्गको १ दिन हुन्छ । एक वर्षमा उत्तरायण र दक्षिणायन गरी दुई अयन हुन्छन् । माघदेखि छः महिनासम्म उत्तरायण र श्रावणबाट छः महिनासम्म दक्षिणायन हुन्छ ।^12 उत्तरायण देवताको दिन र दक्षिणायन रात्रि हुन्छ । एक अयनमा तीन ऋतु हुन्छन् । यी ऋतुका स्वामी छन् । शिशिरऋतुका स्वामी शनी हुन् । वसन्तका स्वामी शुक्र एवं केतु हुन् । ग्रीष्म ऋतुका स्वामी सूर्य, मंगल, राहु, वर्षा ऋतुका स्वामी चन्द्रमा हुन् । शरद ऋतुका स्वामी बुध हुन् भने हेमन्त ऋतुका स्वामी बृहस्पति हुन् ।^13

मुहुर्त भनेको दिनको १५ र रातको १५ भाग हो । एक अहोरात्रमा तीस मुहूर्त हुन्छन् । गिरीश, सर्प, मित्र, पितृगण, वसु, जल, विश्वदेव, ब्रह्म, विधाता, इन्द्र, इन्द्रिाग्नि, निऋति, वरुण, अर्ययमाभग यी दिनका मुहूर्त हुन् भने शिव, अजपाद, अहिर्बुध्न्य, पुषा, अश्विनीकुमार, यम, अग्नि, ब्रह्म, चन्द्र, अदिति, जीव, विष्णु, अर्क, त्वाष्ट्र, मरुत् यी रातका मुहूर्त हुन् । यी ३० मुहूर्तका नाम हुन् । दिनलाई १५ भागमा विभक्त गर्दा ती भागका नाम मुहूर्त राखियो । ^14 उत्तरायण र दक्षिणायनमा रातका केही मुहूर्त दिनमा र दिनका केही मुहूर्त रातमा समाहित हुन्छन् ।

संवत् र संवत्सर

संवत् र संवत्सरको निरन्तरताबाट हाम्रो कालक्रम चलिरहेको छ । कालगणनामा सबैभन्दा माथि कल्प छ । माथिबाट हेर्दा कल्प, मन्वन्तर, महायुग, युगपछि संवत्सरको नाम आउँछ । संवत् कालगणनाको एक अंश हो । यसले वर्ष वा सालको प्रतिनिधित्व गर्दछ । देवता, राजा, सम्प्रदायका मूलव्यत्तिफ्का कारण यी संवत्हहरू चलेका छन् । संवत् का आआफ्नै विशेषता छन् । यी संवत् हरू सत्ययुगमा ब्रह्मसंवत्, त्रेतामा वामन र परशुराम–संवत्  (सहस्रार्जुन–वधपछि) र श्री–राम–संवत (रावण–विजयपछि), द्वापरमा युधिष्ठिरले जितेपछि युधिष्ठिर संवत्, कलीमा विक्रम संवत् हामीले लिएर आएका छौँ । यसरी शास्त्रहरूले संवत्सरका प्रवाह यहाँसम्म बोकेर ल्याएका छन् । विक्रम संवत् पञ्गाङ्गमा आधारित संवत् हो । अन्य संवत्सरको तुलनामा यो निकै वैज्ञानिक मानिन्छ । शकसंवत्, पनि हामीकहाँ प्रचलनमा रहेको छ ।

हाम्रा धर्मशास्त्रहरू सृष्टिदेखिकै यी संवत् हरू निरन्तरता दिँदै ल्याएका छन् । वर्तमान वर्षसम्म कालगणना यसरी चल्दै आएका छन्ः–कल्पाब्द १,९७,२९,४९,०१२६, सृष्टि–संवत् १,९५,५८,८५,०१२६, वामन–संवत् १,९६,०८,८९,० १२६, श्रीराम–संवत् १,२५,६९,० १२६,, श्रीकृष्ण–संवत् ५,२५१, युधिष्ठिर– संवत् ५,१२६, सप्तर्षि संवत् ः ५१०१, बौद्ध–संवत् २,६००, महावीर (जैन)– संवत् २५५२, श्रीशङ्कराचार्य–संवत् २३०५,सप्तर्षि संवत्ः ५१०१, वित्रफ्मसंवत् २०८२, शालिवाहनसंवत् १९४७ निरन्तर चलिरहेकै छन् । यस्ता थुप्रै संवत् हरू हामीकहाँ छन् तर सृष्टिको अवस्थाबाट हाससम्मको निरन्तर कालमान बोकेर आउने पञ्चाङ्ग भने भारतवर्षबाहेक अन्यत्र छैन ।

संवत्सरजस्तै परिवत्सर, इडावत्सर, अनुवत्सर, इद्वत्सर कालगणनाका एकाइ छन् । संवत्सर इन्द्रदेवतासँग सम्बन्धित छ भने परिवत्सर आदित्यसँग सम्बन्घित छ । यसै गरी इडावत्सर वसुसँग सम्बन्धित छ। अनुवत्सर त्वष्टासँग सम्बन्धित छ । इद्वत्सर अग्निसँग सम्बन्धित छ । यिनीहरूको आआफ्नै महत्व छ ।

संवत्सर पाँच प्रकारको छ । यसमा सावन, चान्द्र, र सौर यी तीन संवत्सर विशेष छन् । सौरसंवत्सर ३६५ दिनको हुन्छ । सौरमास भनेको सङ् क्रान्तिदेखि महिनाको आखिरी दिनसम्मको कालावधि जसमा २९,३०,३१, ३२को दिन हुन्छ । सावनंवत्सर ३६० दिनको हुन्छ । सावनमास ३० दिनको गणनाले हुने मासज्ञछ हो । चान्द्रसंवत्सर ३५४ दिनको हुन्छ । शुक्लप्रतिपदादेखि कृष्णऔँसीसम्म वा औँसीको प्रतिपदाबाट पूर्णिमान्तसम्मको अवधि वा मास चान्द्रमास^15 हो । यी सबै संवत्सरले वर्षलाई बुझाउँछ ।

ब्रह्माले सृष्टि आरम्भ गरेको दिन चैत्र शुक्लप्रतिपदा हो भन्ने कुरा धर्मशास्त्रहरूमा आएको छ । आजको भौतिकविज्ञान त्यहाँसम्म पुग्न सक्तैन भने उक्त इतिहास काल्पनिक हुन्छ र ! मानवदिन, पितृदिन र देवका दिन स्पष्टसँग आएपछि शास्त्रप्रति अविश्वास मान्नु र ! यो सारा विश्व स्थूल र सूक्ष्म दुई स्वरूपमा छ । सूक्ष्मलाई आँखाले देखेन भनेर अविश्वास मान्नु कति उचित होला ? हामीले व्यक्ति आफूकै स्थूल (पाञ्चभौतिक), सूक्ष्म(मानसिक) र कारण(जीव) गरी तीन शरीर छन् भन्दा किन आश्चर्य मान्नू ? यो त स्वप्ना र स्वप्नाका गतिविधिबाट नै स्पष्ट छ ।

शरीर, आत्मा तीन अवस्थाः

देह जीवको आश्रय हो यसको विनाश हुने भएका देहलाई शरीर भनिन्छ । शरीरका तीन तह छन् । स्थूलशरीर एकतह हो; सूक्ष्मशरीर दोस्रो तह हो । यी दुबैको कारण जेमा रहेको छ त्यो कारण शरीर तेस्रो तह हो । यो स्थूलशरीर आँखाले देखिन्छ । पञ्चतत्त्वबाट निर्मित छ । रज र वीर्यबाट उत्पन्न भएर अन्नपानीबाट समृद्ध हुन्छ ; जसमा ‘मज्जा, अस्थि, मेद, मांस, रक्त, शुक्र, र त्वचा यी सात धातुहरू हुन्छन् । यस शरीरलाई इन्द्रियशत्तिले सञ्चालित गर्छ र यसलाई मन र बुद्धिले क्रियाशी गराउँछन् । यसलाई भोग गर्ने अवस्था जागृतावस्था हो ।

सूक्ष्म शरीर भनेको दशइन्द्रिय, पाँचप्राण र मन र बुद्धि मिलेर बनेको चैतन्य शरीर हो ; जो अनुभवजन्य छ । यसलाई मानस शरीर भनिएको छ । हामी निदाएको समयमा यो घुमफिर गर्दछ; जसलाई हामी सपना भन्दछौँ । यसलाई अनुभव गर्ने अवस्था भनेको स्वप्नावस्था हो । यो शरीर भौतिक शरीरमा प्रवेश गर्नासाथ भौतिक शरीर जागृत हुन्छ । शरीरमा उक्त सत्रतत्त्व सक्रय रहेको अवस्थालाई हामीले जागृत अवस्था भन्दछौँ । सूक्ष्म शरीर अध्यात्मशरीर हो भने स्थूल शरीर भौतिक शरीर हो । जागृतावस्थामा भौतिक शरीरमा दुवै शरीरको सक्रियता रहन्छ । सूक्ष्म र स्थूल शरीरको कारक भएकाले कारण शरीर भनिएको हो । यसलाई भावशरीर भनिन्छ । अनेकौ जन्मका कर्मवासना लिएर आएको आत्माको जीवत्व नै कारण शरीर चित्तभित्र सत्वगुणमा रहेको अहङ्कार नै सूक्ष्मशरीर हो । यसका कुनै अङ्ग अवयव छैनन् । अव्यक्त अवस्थामा रहन्छ । यसमा इन्द्रिय र मन, बुद्धिका कुनै वृत्ति रहँदैनन् । यसको अभिव्यक्ति सुषुप्त अवस्थामा हुन्छ । मन, बुद्धिका वृत्ति नरहेको अवस्था नै सुषुप्तावस्था हो । शरीरका तीनस्वरूप र अवस्थापछि मात्र आत्माको शुद्धस्वरूप थाहा हुन्छ । त्यसैले तीन शरीर चार अवस्था छन् । तीन अवस्थासम्म भौतिकता रहन्छ । यसपपछि केवल अध्यात्म रहन्छ । मात्र आत्मा रहन्छ ।

अध्यात्म अभौतिक आत्माको क्षेत्र हो । गीताले शरीरलाई क्षेत्र र आत्मालाई क्षेत्रज्ञको रूपमा परिभाषित गरेको छ । उपनिषद र धर्मशास्त्रहरूले आत्माका वैश्वानर, तैजस, प्राज्ञ र तुरीय (शुद्धआत्मा) गरी चारपाउ रहेका छन् भनेका छन् । जाग्रत अवस्थाको भौतिक शरीरमा ‘वैश्वानरआत्मा सपनावस्थामा तैजसआत्मा र सुषुप्त अवस्थामा प्राज्ञआत्मा रहन्छन् । यसपछिको तुरीयावस्थामा शुद्ध आत्मा रहन्छ । आत्माको यी चार पाउलाई हेर्दा यो विश्व आत्मामय देखिन्छ ।

^1 सर्व ह्येतद् ब्रह्मायमात्मा ब्रह्म सोऽयमात्मा चतुष्पाद मुण्डकोपलषिद

^2 जागरितस्थानो वैश्वानरः स्वप्नस्थान तैजस १० सुप्तस्थानः प्राज्ञ ११अमात्रश्तुर्थौऽव्यवहार्यः१२मुण्डकोपनिषद

^3 यदैव भगवद्विष्णोरंशोयातो देवंद्विज वसुदेवकुलोद्भूतस्तदैव कलिरागतः २३विष्णुपुराण

^4 कुरुवंशोद्भवो राजा कुन्तीपुत्रोयुधिष्ठिरः वेदवेदाभ्ररामाब्दं ३०४४ स्शकं चालयिष्यति ।। जातेऽधर्मे पुना राजा विक्रमार्को भविष्यति शालिवाहो नृपोनाम शङ्कराराधनेरतः ।। रत्नदीपटीका २४ पृष्ट शूकरमान विभिन्न संवत्हरूमध्ये लक्ष्मण संवत् तिनको सम्बन्ध

^5 प्रभवो विभवः शुक्लःप्रमोदोऽथ प्रजापतिः ।। अङ्गिराः श्रीमुखो भावो युवा धाता तथैव ।।

ईश्वरो बहुधान्यश्च प्रमाथी वित्रफ्मो वृषः ।। चित्रभानुः सुभानुश्च तारणः पार्थिवो व्ययः ।।

सर्वजित्सर्वधारी विरोधी विकृतिःखरः ।।। नन्दनो विजयश्चैव जयो मन्मथदुर्मुखौ ।।

हेमलम्बी विलम्बी विकारी शार्वरी प्लवः ।। शुभकृच्छोभनः त्रफेधी विश्वावसुपराभवौ ।।

प्लवङ्गः कीलकः सौम्यः साधारणो विरोधकृत ।। परिधावी प्रमादी आनन्दो राक्षसो नलः ।।

पिङ्गलः कालयुत्तफ्श्च सिद्धार्थी रौद्रदुर्मती ।। दुन्दुभी रुधिरोद् गारी रत्तफक्षी त्रफेधनः क्षयः ।।

मुहूर्तसङ्ग्रहदर्पण, कृष्णदास प्रकाशन,बम्बइ २०५६

^6 संवत्सरो वत्सरोऽब्दो हायनोऽस्त्री शरत्समाः पूर्ववत्

^7 दर्शावधिं मासमुशन्ति चान्द्रं सौरं तथा भास्करराशि भोगात्

त्रिंशद्दिनं सावनसंज्ञमार्या, नक्षत्रमिन्दोर्भगणाश्रयाच्च ।।१२ मुहूर्तसङ्हदर्पण

^8 असंत्रफन्तिमासोऽधिमासः स्पफ्टुं स्याद्विसंत्रफन्तिमासः क्षयाख्यः कदाचित्

क्षयः कार्तिकादित्रये नान्यतः स्यात्तदा वर्षमध्येऽधिमासद्वयं ।।१३ मुहूर्तचिन्तामणी

^9 द्वात्रिंशद्भिर्गतैर्मासैर्विनैः षोडशभिस्तथा ।। घटिकानां चतुष्केण पतत्यधिकमासकः ।।१४ मुहूर्तचिन्तामणी

^10 नित्यनैमित्तिकं कुर्य्याच्छ्राद्धं कुर्यान्मलिम्लुचे ।। तिथिनक्षत्रवारोत्तफ् ंकाम्यं नैव कदाचन ।।१५ मुहूर्तचिन्तामणी

^11 काष्ठा निमेषा दश पञ्च चैव त्रिंशत्तु काष्ठा गणयेत् कलां ताम्

त्रिंशत्कलक्षापि भवेन्मुहूर्तो भागः कलाया दशमश्च यः स्यात् ।। १२ ।। मुहूर्तचिन्तामणी

^12 शिशिरपूर्वमृतुत्रयमुत्तरं ह्ययनमाहुरहश्च तदामरम् ।। भवति दक्षिणमन्यमृतुत्रयं निगदिता रजनी मरुतां हि सा ।।मुहूर्तसङ्ग्रहदर्पण

^13 शिशिरस्याधिपः सौरिर्वसन्तस्य शिखी भृगुः ग्रीष्मस्यार्कतमोभौमा वर्षायाश्चन्द्रमाः स्मृतः ।।१०एवं

शरदीशो बुधः प्रोत्तफे हेमन्तस्याधिपो गुरुः ऋतूना मधिपा होते कथिताः पूर्वसूरिभिः ।।११एवं

^14 त्रिंशन्मुहूर्तं तु भवेदहश्च रात्रिश्च संख्या मुनिभिः प्रणीता मासः स्मृतो रात्र्यहनी त्रिंशत् संवत्सरो द्वादशमास उत्तफ्: ।। १३

^15 त्रिंशद्दिनै सावनः धर्मसिन्धु

^16 शुक्लप्रतिपदादिरमान्तः कृष्णप्रतिपदादिपूर्णिमान्तो वा चान्द्रो मासः धर्मसिन्धु

@ copyrighted to Writer Dilliram Gautam.

Leave A Comment

Your email address will not be published. Required fields are marked *

Related Posts