0%
Still working...

दर्शन एक सिद्धान्त अनेक


बुद्धिजीवीहरूका बिचमा हुने हरेक संवाद तथा चिन्तनहरूमा दर्शन, विचार र ज्ञानको चर्चा पन1
हुन्छ । तर ती चर्चामा उठेका प्रश्न र उत्तरहरू कुन पृष्ठभूमिबाट आइरहेका छन् भन्ने कुरा सहजै
जान्न सकिँदैन । किनभने जसले जे पढेको वा जानेको छ उसका लागि त्यही विषय चिन्तनको आधार
बन्दछ । पढेको वा अनुभव गरेका बाहेक अरू कुराको चिन्तन वा विचार आउन सक्दैन । हरेक
चिन्तन, विचार र ज्ञानका प्रवाहमा दर्शन जोडिएको हुन्छ त्यसैले दर्शन व्यक्तिगत र सामाजिक
जीवनको आधारभूत तत्त्व हो ।

पितापुर्खाबाट हस्तान्तरण हुँदै आएका हाम्रा परम्परा, संस्कृति, संस्कार, चाडपर्व र उत्सवहरू
दर्शनकै पृष्टभूमि वा दृष्टिबाट आएका हुनाले विद्यालय नगएका वा शिक्षादीक्षा नलिएका मानिसभित्र
पनि यसको प्रभाव परिरहेकै हुन्छ । यसरी चित्तमा परेको प्रभावअनुसार दर्शनदृष्टिहरू मानिसका हृदयमा
स्वतः रहेका हुन्छन् । जब व्यक्ति अध्ययन र अनुसन्धान गर्दै अगाडि बढ्छ तब उसका व्यवहारमा
अध्यात्म र भौतिक ज्ञानका प्रभावहरू नयाँ आयामका रूपमा त्रमशःथपिन थाल्दछन्। शास्त्रीय ज्ञानले
व्यक्तिका प्रभावमा परिवर्तन ल्याउन थाल्दछ ।


भौतिकदर्शन र भौतिकवाद, अध्यात्मदर्शन र अध्यात्मवादमा कुन विषयले सहज रूपमा बढी
प्रभाव पारेर व्यक्तिको मनमस्तिष्कमा प्रवेश गरेको छ त्यसै किसिमको सोचविचार र चिन्तन प्रभावित
हुन थाल्दछ । हुनत यी दुवै यो सृष्टिमा एकआपसमा अन्योन्याश्रित छन्। तर अलग्याएर हेर्दा यी दुईमा
विशेष भिन्नता छ । एक आपसमा हुने संवाद, छलफलका माध्यमबाट विचार आदानप्रदान हुने हुँदा
विचारले पारेको प्रभाव अनुसार व्यवहार(एकआपसमा हुने आदानप्रदान)मा कुनै एक दर्शन प्रकट हुन्छ ।
यसरी प्रकट भएका सबै कुरा सही हुन् भनेर हामीले स्वीकार गरिहाल्ने अवस्था भने हुँदैन किनभने
व्यक्तिको मस्तिष्कमा शिक्षादीक्षा कहाँको कसरी व्याप्त भइरहेको छ त्यो कुरा महत्त्वपूर्ण हुन्छ । आजको
यो विश्वव्यापीकरणले मौलिक शिक्षादीक्षालाई कमजोर बनाएको छ । पढ्ने विषय मौलिक भन्दा
बाह्यको छ भने पढ्ने व्यक्तिका मस्तिष्कमा आफ्नो मौलिक कुरा पुग्न पाएको हुँदैन । उसलाई त आफ्नो
मस्तिष्कमा भएकै कुरा मात्रै ठिक लाग्छ । जसले गर्दा कतै मौलिक धार नै उसका मस्तिष्कबाट समाप्त
भएको हुन पनि सक्छ । हामीले यस कुरामा ध्यान पुर्याउनै पर्छ ।


भौतिक र अध्यात्मको दृष्टिले विचार, दर्शन र ज्ञानका भिन्न आयामहरू छन्। संस्कार, संस्कृति,
परम्परा र सभ्यता अलगअलग भएपनि यो विश्व सबैको साझा घर हो । त्यसैले आफु जहाँ बसिएको
हो त्यहाँको पृष्ठभूमि र पुर्खाले दिएको वा हस्तान्तरण गरेको मौलिकपनको बीज भने हामी पहिल्याउनु
पर्छ । कहीँ कतै हाम्रा आफ्ना परम्परा, संस्कृति सभ्यतामा ऐँझेरु पलाएका छन् भने त्यसलाई फालेर
मूल कुरालाई जगेर्ना गर्नुपर्छ र त्यसलाई स्वस्थ राख्नुपर्छ । यो हरेक मानवको कर्तव्य हो र नागरिकको
धर्म हो ।

व्यक्तिव्यक्तिको समूह परिवार हो; जहाँ एकै भान्सामा खानापान हुन्छ, सन्तान, नाताकुटुम्ब र
परिजनको समूह रहन्छ । यहाँ व्यक्तिका विचारमा भिन्नता रहेपनि एकै परिवेश हुन्छ । परिवार,
परिवारबिचको समूह समाज हो; जहाँ एकै प्रकारको काम, धर्म, सोच र विचारको समन्वय हुन्छ । एक
आपसमा लेनदेन, आपूर्ति र सहयोग हुन्छ । परिवारको व्यवहार बिच भिन्नता रहेपनि समता, सहिष्णुता,
र सहयोगमा समान योगदान हुन्छ । समाजसमाज बिचको समन्वयले वृहद्समाज वा एक देश बनेको
हुन्छ । एक देशमा अनेक परिवार, समाज र सभ्यता रहेपनि यस वृहद्समाजलाई एउटै साभफ कर्तव्य,
कर्म र यात्रामा लानका लागि नियम बनाइन्छ । त्यो नियम त्यहाँको परिवार, समाज र वृहदसमाजमा
रहेका सबैको सभ्यता, संस्कृति र संस्कारको द्योतक हुन्छ र हुनुपर्छ । त्यसैले व्यत्तिफ्को परिवार, समाज
र देशप्रतिको कर्तव्य हुन्छ । जुन कर्तव्यको अधिकार सबैले सबैको लागि हनन हुन दिनुहुँदैन ।


दर्शन, ज्ञान, संस्कृति, सभ्यता शब्दका दृष्टिले एकै छन् अर्थात ज्ञान शब्द एक हो विशेषणले
फरक हुन्छ । तर सभ्यतासँगै सामाजिक परिवेश अनुसार विज्ञहरूले निर्माण गरेका सिद्धान्त र फरक
अवधारणाले यी दर्शन, ज्ञान, संस्कृति, सभ्यता अनेक रूपमा विकसित भएका छन् । यी फरकपन
भित्रपनि अधिकारको सुरक्षा र रक्षाको कर्तव्यले मानिसलाई एकआपसमा सहयोगी र समतामा राख्दछ ।
पूर्वीय चिन्तन र दर्शनको ध्येय यही हो । यहाँ प्रयुक्त पूर्वीय शब्द कुनै भू–सीमारेखाबाट पूर्वतिरको भन्ने
भन्दा पनि सर्व प्राचीन वा पुरानो भन्ने अर्थबाट हेर्दा ‘वेद’तिरको सङ्केत बुझिन्छ । अहिले यो धर्तीमा
सर्वप्राचीन अभिलेख ‘वेद’ भन्दा अर्को छ जस्तो लाग्दैन । हामीले मात्र होइन विश्वका विद्वान् ले
स्वीकारेको कुरा हो । यसकारण वेदसँग जोडिएको चिन्तन नै पूर्वीय चिन्तन हो । यससँग जोडिएको
दर्शन नै पूर्वीय दर्शन हो ।


पूर्वीय चिन्तन र दर्शनको जग ‘वेद’ नै हो । वेद ज्ञान, विज्ञान, दर्शनको समुच्चय नाम हो त्यसैले
यसका ऋग्, यजु, साम र अथर्व चार नाम रहन गए । ऋग्वेदले विज्ञान, सामले दर्शन र उपासना,
यजुले गर्नुपर्ने कर्मकाण्ड र अथर्वले ज्ञानलाई प्रतिनिधित्व गरेका छन्। यी चार विषयको समष्टि ज्ञानको
नाम ‘वेद’ हो । ज्ञानका चारस्वरूप छन्। यसलाई शास्त्र र अनुभव दुई अभ्यासबाट प्राप्त गर्न सकिन्छ
। यसर्थ ज्ञानका आध्यात्मिक र भौतिक दुई तह छन्। जो प्रत्यक्ष छ त्यो भौतिक ज्ञान हो र परोक्ष चाहिँ
अध्यात्म हो ।


अध्यात्मको केन्द्र आत्मा हो भने भौतिकको केन्द्र प्रकृति हो । प्रकृति सूक्ष्म र स्थूल दुई स्वरूपमा
छ । त्रिगुणप्रकृति सूक्ष्म स्वरूप हो भने पञ्चतत्त्वप्रकृति स्थूल स्वरूप हो । स्थूल प्रकृति बाह्यइन्द्रिय

जन्य छ । अर्थात्, ज्ञानेन्द्रियबाट थाहा पाइन्छ । सूक्ष्म प्रकृति वा त्रिगुण मन, बुद्धि र चित्त(
अन्तरिन्द्रिय)बाट अनुभव हुन्छन् । आत्मा त गुणरहित छ । यसर्थ हामीकहाँ अध्यात्म र भौतिक गरी

दर्शन दुई किसिमका छन् । यी दुवै दर्शनको आधारभूमि वा स्रोत वेद हो । यसर्थ पूर्वीय दर्शन वैदिक
दर्शन हो ।


विशेषतः आर्यावर्तभित्रको भारतवर्षमा धर्मको जुन दर्शन छ त्यो अन्यत्र कतै छैन । मूलतः
प्रकृतिलाई जुन कुराले एक आपसमा समन्वय गरेर राखेको छ त्यही धर्म हो । त्यो मानवीय सभ्यतामा

आचार र सदाचार जसलाई मानवले धारण गर्नैपर्छ । अन्यथा सामाजिक मर्यादा रहँदैन । यो धर्म हिन्दु,
किरात, बौद्ध, जैन र वोन सभ्यतामा संस्कार र संस्कृति भिन्नभिन्न रूपमा व्यवहारमा व्यक्त भयो ।
यिनीहरू देवता, पशुपक्षी, पञ्चप्रकृतिको पूजा र आराधना गर्ने संस्कार संस्कृति स्थापित भए । यो
हिमवत्खण्डमा हिन्दु, बौद्ध, किरात र वोन सभ्यता प्रसारित छ । त्यसैले एक आपसमा यिनीहरूको
समन्वय छ ।


हरेक सभ्यताका आआफ्ना दर्शन रहेका छन्। हिन्दुसभ्यताले वैदिक दर्शनलाई आत्मसात गरेको छ
। वैदिक दर्शनमा आत्मा, परमात्मा र प्रकृतिमूल तत्त्वमा छन्। प्रकृति भौतिक भएकाले भौतिक दर्शन
र आत्मा तथा परमात्मा अभौतिक भएकाले त्यससँग सम्बन्धित दर्शन अध्यात्म दर्शन भए । यो
भारतवर्ष र हिमवत्खण्डको सभ्यता, संस्कृति र माटो बुझ्नका लागि यी दुवै दर्शन र यिनीहरूको स्रोत
वेदलाई जान्नैपर्छ ।


पूर्वीय चिन्तन परम्परामा दर्शन भनेको देख्नु वा इन्द्रियबाट थाहा हुनुवा आत्माअनुभव हुनु हो ।
देख्नु भन्ने कुरा मूलचेतनामा रहेकाले हामीकहाँ कसैसँग साक्षात्कार हुँदा ‘आज यहाँको दर्शन भयो’
भन्ने चलन छ । यसर्थ पूर्वीय वैदिक परम्परामा तत्त्वको साक्षात्कारलाई मात्र दर्शनशास्त्रको नाम दिएको
छ । प्रमाण, तर्क र अनुभवबाट तत्त्वको साक्षात्कार हुन्छ । यसरी साक्षात्कार हुने तत्त्वका सन्दर्भमा
वेदमा सगुण र निर्गुणतत्त्वको चिन्तन छ । सगुण साकार र निराकार दुई स्वरूपमा छ । जेको आकार
वा स्वरूप हुन्छ, त्यो साकार तत्त्व हो भने जेको आकार वा स्वरूप हुँदैन त्यो निराकार हो । यही
प्रकृति हो । सगुणतत्त्व प्रकृति तत्त्व हो । यो साकार र निराकार दुई स्वरूपमा छ । यसमा चक्षु प्रत्यक्ष
हुन्छ भने त्यो सगुण साकार हो । सुनिन्छ अथवा थाहा हुन्छ तर देखिँदैन भने त्यो सगुण निराकार हो ।
सगुणतत्त्व प्रकृति हो । प्रकृति स्थूल र सूक्ष्म छ । स्थूललाई बाह्य इन्द्रियले थाहा पाउँछन् । यसलाई
भौतिक भनिन्छ । यसको विनाश हुन्छ । सूक्ष्मलाई अन्तर इन्द्रिय(मन, बुद्धि, चित्त)ले थाहा पाउँछ । यो
अध्यात्म हो । यसको पनि विनाश हुन्छ तर प्रलयपर्यन्त रहन्छ ।


निर्गुणतत्त्व निराकार छ । यो केवल अनुभवजन्य छ । इन्द्रियले यसलाई अनुभव गर्न सक्दैन । यो
आत्मासँग सम्बन्धित छ । निर्गुणतत्त्व इन्द्रियको पहुँचमा छैन । यसलाई अतीन्द्रियतत्त्व भनिन्छ । यो
आत्मातत्त्व हो । यो अविनाशीतत्त्व हो । यही कारणले यो ब्रह्मको अंश हो । ब्रह्म सृष्टिको मूलबीजतत्त्व हो
। यही आत्माको कारण हो । बुद्धि वा चैतन्यको कारण आत्मा हो । चैतन्य बुद्धि इन्द्रिय र सूक्ष्म प्रकृतिको
कारक हो । यसैबाट यो स्थूल जगत चलेको छ ।


परमात्मा वा ईश्वरतत्त्वको चिन्तन र दर्शनको नाम ‘उपनिषद्’ हो । उपनिषद्ले आत्मा र
आत्माको कारण परमात्मा हो भनेर हामीलाई सिकाएको र बुझाएको छ । त्यसैले ईश्वरको नजिक बस्ने
भन्ने अर्थमा उपनिषध भनिएको हो । यो सत्यबाट निकै टाढा पुगेका अवस्थामा आत्मा र प्रकृतिको बोध
गराउनका लागि दर्शनहरूको उदय भएको हो । आत्मा र प्रकृति यी दुवै तत्त्वको बोध गरेका

ऋषिमहर्षिहरूले आत्मा र प्रकृतिको ज्ञान दिए र त्यसलाई पाउन, देख्न वा अनुभव गर्नका लागि मार्ग
वा विधि सिकाए, ती दर्शनका रूपमा स्थापित भए ।


प्रकृति र आत्मा चिनाउने क्रममा न्यायदर्शनले सोह्र पदार्थको ज्ञान हुनुपर्छ भन्यो ।
वैशेषिकदर्शनले हरेक वस्तु वा पदार्थ परमाणुदेखि विकसित हुँदै वृहत्स्थूल स्वरूपमा आएका हुन् भन्ने
ज्ञान हुनुपर्छ भन्यो । यसैगरी साङ्ख्य दर्शनले चौबीस तत्त्वको मूल स्वरूप प्रकृति हो र यसलाई
क्रियाशील राख्ने मूलतत्त्व पुरुष(आत्मा) हो । यी दुई तत्त्वको समन्वय यो देखिएको सृष्टि हो । यस
रहस्यको ज्ञान हुनुपर्छ भनेको छ । पदार्थ र प्रकृतिको ज्ञानभन्दा पनि आसन, प्राणायम हुँदै ध्यान र
समाधिको मार्गबाट आत्मानुभव हुन्छ । यो अनुभवको मार्ग हो यसबाट सत्यको ज्ञान हुन्छ भनेर योग
दर्शनले बताएको छ । यता कर्म मिमांसादर्शनले कर्मको मार्गबाट सत्यको ज्ञान हुन्छ भनिएको छ ।
यसका लागि वैदिक कर्म श्रेष्ठ छ । धर्म र कर्मको समन्वय गरी यज्ञ र वेदको सामञ्जस्य गराई तत्त्व
बोध गराएर कर्मको श्रेष्ठता सिद्ध गरी कर्मज्ञान हुनुपर्छ भन्ने शिक्षा दिएको छ ।


अन्त्यमा वैदिक कर्मभन्दा पनि वेदज्ञान सर्वोच्च छ । परम ज्ञानका लागि ज्ञानको मार्गले परम
सत्य भेटिन्छ भनी वेदान्त दर्शनले भनेको छ । पदार्थ, परमाणु, प्रकृति पुरुष, आत्मानुभव, कर्म र ज्ञान
यी सबैलाई शुद्धरूपमा अवगत गर्नका लागि प्रमाण आवश्यक छन्। यसका लागि न्यायदर्शनले प्रत्यक्ष,
अनुमान, उपमान र शब्दप्रमाण अघि सारेको छ भने वैशेषिकले प्रत्यक्ष, अनुमान गरी दुई प्रमाणलाई
मानेको छ । यसले उपमान र शब्दप्रमाण अनुमानमा नै राखेको छ । साङ्ख्यले प्रत्यक्ष, अनुमान र शब्द
(वेद/आगम) गरी तीन प्रमाणअघि सारेको छ । यसरी नै योगदर्शनले पनि यिनै तीन प्रमाणको अघि
सारेको छ । प्रत्यक्ष, अनुमान, उपमान, शब्द, अर्थापत्ति1,अनुपलब्ध2 प्रमाण गरी छ वटा प्रमाण अघि
सारेको छ ।वेदान्तले श्रुति, युत्ति(तर्क) र अनुभवयी तीन प्रमाण मानेको छ ।


प्रमाण भनेका ‘सत्य पर्गेल्ने साधन’ हो । अर्थात् जसद्वारा यथार्थज्ञान प्राप्त हुन्छ त्यो प्रमाण हो
। यसमा प्रत्यक्ष प्रमाण भनेको इन्द्रिय र वस्तुको सन्निकर्ष वा सन्निकटबाट हुने ‘संशयरहितशुद्धज्ञान’नै
प्रत्यक्ष प्रमाण हो । अनुमान प्रमाण भनेको प्रत्यक्षदर्शनका सहाराले अप्रत्यक्षवा परोक्षपदार्थको स्वरूपको
ज्ञान हुनु हो । जस्तै कालो बादल आकाशमा देखेपछि पानीपर्छ भन्ने ज्ञान लिनु हो । किनभने कालो
बादल लागेपछि पानी परेको देखिसकेको छ । उपमान भनेको थाहा पाएको वस्तु जस्तै अन्य वस्तु
देखेमा तुलना गरेर हुने सादृश्य ज्ञान हो । सादृश्य भनेको देखेको वस्तुबाट उस्तै वस्तु देख्ता उही जस्तो
हो भनेर ठान्ने हो । जस्तै अचानक जङ्गलमा नीलगाई देख्दा गाउँमा देखेको गाईजस्तै लागेर त्यसलाई
पनि गाई नै हो भन्नु उपमान प्रमाण हो । वेद, उपनिषद्र सिद्धऋषिका वचन नै शब्दप्रमाण हुन् ।
पूर्वीय दर्शनको लक्ष्य मोक्ष हो । यसर्थ परम सत्यको ज्ञानबिना मोक्ष सम्भव छैन । मोक्ष दुःखको
निवृत्ति हो अर्थात् दुःखबाट छुट्कारा पाउनु नै मोक्ष हो । सत्यको बोध नभई दुःखबाट छुट्कारा पाइँदैन
भन्ने दर्शनको मान्यता हो । यसर्थ हाम्रा दर्शनको मूल्य भनेको प्रकृति, आत्मा र परमात्माको ज्ञान हो ।

मूल्यले नै मान्यता स्थापित गर्ने हुनाले हाम्रा यी मूल्य र मान्यता बुझ्नका लागि वैदिकदर्शनको अध्ययन
र अनुसन्धान अपरिहार्य छ ।


पदार्थ, परमाणु र प्रकृति वा आत्मानुभव जसरी भएपनि सप्रमाण सिद्ध हुने ज्ञान दर्शन हो तर
ज्ञान प्राप्त गर्ने सिद्धान्त र मार्ग फरकफरक रहेकाले नाम अनेक हुन पुगेका हुन् । वात्स्यायनले आफ्नो
भाष्यमा ‘प्रमाणै अर्थपरीक्षणं न्याय’ भनेकाले तर्क र प्रमाणद्वारा सत्य उद्भाषित हुन्छ भन्ने गौतमको
तर्कशास्त्र न्यायदर्शनका नामले स्थापित भयो । विशेष नामको पदार्थको चिन्तन गरेकाले कणादको
दर्शन ‘वैशेषिक’दर्शनका नामले स्थापित भयो । यो न्यायदर्शनकै पूरक दर्शन हो । द्वैतबाट अद्वैतमा लिएर
जाने कपिलको दर्शनमा प्रकृतिका चौबीस र एक पुरुष गरी पच्चीस तत्त्वको सङ्ख्या रहेकाले यसको
नाम साङ्ख्य रहन गयो । यो दर्शन वेदान्तदर्शनकै पूरक दर्शन हो । यसैगरी चित्तवृत्तिको निरोध गरी
आत्माको ज्ञान गराई परमात्मासँग जोड्ने मार्ग बताएकाले पतञ्जलीको दर्शनलाई योगदर्शन भनियो ।
कर्मको सूक्ष्म विवेचन वा मीमांसा भएकाले जैमिनीको दर्शनलाई कर्ममीमांसा भनियो । यसैगरी
ब्रह्मभन्दा दोस्रो अर्को तत्त्व छैनभने मिहिनरूपमा सबै दर्शनको मीमांसा गरिएको शंकराचार्यको
ज्ञानदर्शनलाई ‘अद्वैत वेदान्त’ दर्शन भनियो ।


यी सबै दर्शनहरूको स्रोत ‘वेद’ नै हो । यिनीहरूले वेदलाई प्रत्यक्ष र परोक्षरूपमा स्रोतका रूपमा
राखेकाले यी छ दर्शनलाई ‘आस्तिकदर्शन’ भनिन्छ । यसमा न्याय, वैशेषिक र साङ्ख्यले परोक्षरूपमा
वेदलाई प्रमाणका रूपमा लिएका छन् भने मीमांसा र वेदान्तले प्रत्यक्ष प्रमाणका रूपमा राखेका छन्।
यसर्थ यी सबै ‘वैदिकदर्शन’ हुन् । यी सबै दर्शनमा कुनै न कुनै रूपमा अन्तःकरण मन, बुद्धि र चित्त र
आत्माचिन्तन रहेकाले यिनीहरू अध्यात्मदर्शन हुन्।


न्याय, वैशेषिक, साङ्ख्यदर्शन पदार्थ र प्रकृतिको बढी चर्चा छ । तसर्थ यिनीहरूमा भौतिकपक्ष
बढी छ । यसर्थ यिनीहरू भौतिकदर्शन हुन् भन्न सकिन्छ । पूर्वीय दर्शनको विशेषता भनेको यिनीहरूले
अन्तःकरण र आत्माको चिन्तन गरेकै हुन्छन् । योग र वेदान्त दर्शन पूर्णतः अध्यात्मदर्शन हुन् तर
यिनीहरूमा पनि भौतिकतत्त्वको चिन्तन छ ।


दर्शन हाम्रो गन्तव्य देख्ने दृष्टि हो । दर्शनले हामीलाई दृष्टि दिएको हुन्छ त्यसैले हरेक विषयलाई
त्यही दृष्टिबाट हेर्न सक्छौँ । जस्तै ‘सर्वे भवन्तु सुखिनः’ यो दर्शनले दिएको दृष्टि हो । हाम्रो गन्तव्य
सबैको हित र कल्याण हो । किनभने पूर्वीय दर्शन सबैको आत्मा एकै हो त्यसैले कसैले कसैलाई दुःखी
बनाउनु हुँदैन भन्छ । यस दर्शनअनुसार जसले जसलाई दुःख दिन्छ उसले पनि दुःख भोग्नै पर्छ । गरेको
दुष्कर्म नभोगिकन त्यसबाट छुटकारा मिल्दैन भन्दछ । त्यसैले सबै सुखी होउफ्न्भनेको सबैप्रति सुखको
वातावरण सिर्जना गरौँ हो । अध्यात्मबाहेक यो दृष्टि अरू दर्शनबाट पाउन सकिँदैन ।


दुःखबाट मुक्त हुनु नै मोक्ष हो भनेर दुःखनिवृत्तिकालागिदर्शनको उदय भएकाले
मानवजीवनमा दर्शनको अपरिहार्य छ । दर्शनले दुःखबाट मुक्त गराउनुपर्छ । दुःखबाट मुक्त हुने ज्ञान भनेकै
दर्शन भएकाले सत्यको बोध गराउने ज्ञान पूर्वीय दर्शन नै हो ।यसर्थ दर्शन ‘भ्रमरहित ज्ञान’हो ।

यो ब्रह्माण्ड प्रकृति, पुरुष(आत्मा) र ईश्वरको युति हो । पुरुष जीव हो । प्रकृति जगत हो । जगत
जीव रहने घर भएकाले शरीर जगत वा प्रकृति हो । यी सबैको नियन्ता ईश्वर हो । हामीले जे
देखिरहेका छौँ त्यो प्रकृति ईश्वरको शरीर हो । यसभित्र आत्मा रूपमा ईश्वर बसेको छ । यसको बोध
हुनु नै ज्ञान हुनु हो र यो ज्ञान भयो भने मोक्ष प्राप्त हुन्छ भनेर सबै दर्शनको निचोडको रूपमा वेदान्त
दर्शन आएको छ । यही पूर्वीय दर्शनको निचोड हो ।

  1. विरोधाभासबाट प्राप्त हुने निष्कर्षको प्रमाण ।
  2. अभावको ज्ञान दिने प्रमाण ।

Leave A Comment

Your email address will not be published. Required fields are marked *